जनरल डम्बर समशेरका नाति समर समशेर तथा कीर्तिराज्यलक्ष्मीका छोरा बालकृष्ण समको जन्म वि.सं. १९५९ साल माघ २४ गते भएको हो । उनको पारिवारिक वातावरण शैक्षिक रूपले सचेत एवम् आर्थिक रूपले सम्पन्न भएकाले उनले सानैदेखि शैक्षिक तथा साहित्यिक वातावरण प्राप्त गरेका थिए । आठ वर्षको उमेरमा वि.सं. १९६७ सालमा भाषा (खा) मुठीको सबलाई हेरि । राज हुन्छ नाराण विष्णु मेरी भन्ने श्लोकबाट कविता यात्राको आरम्भ गरेका समले आफ्नो जीवनको सात दशक लामो कविता यात्रामा एक खण्डकाव्य, एक महाकाव्य र चार सय भन्दा बढी फुटकर कविताहरूको रचना गरेर नेपाली साहित्यको काव्य भण्डारलाई समृद्ध तुल्याएका छन् ।साहित्यका विभिन्न विधामा कलम चलाएका बालकृष्ण समले कथा, कविता, निबन्ध, एकाङ्की तथा नाटकहरूको रचना गरेका छन् । तापनि साहित्यकारका रूपमा उनी मूलतः नाटककार हुन् । उनको नाट्यक्षेत्रको मूल प्राप्ति कविता–नाटक हो भने त्यस पछिको दोस्रो प्रमुख क्षेत्र कविता हो । कविता विधासँगै समको भावात्मक सम्बन्ध छ । किनकि साहित्यको आरम्भ र अन्त्य उनले उसै विधाबाट गरेका छन् । नेपाली कविताको आधुनिक कालमा लेखनाथ पौड्यालसँग सुरु भएको शास्त्रीयवादी काव्य परम्परालाई अगाडि बढाउने कार्यमा उनको अविस्परणीय देन छ ।
आफ्नो सात दशक लामो कवितायात्रामा कवि बालकृष्ण समले पद्य नाटक, फुटकर कविता, खण्डकाव्य तथा महाकाव्यको रचना गरेका छन् । उनले आफ्ना प्रायः सबै कविताहरुमा दार्शनिक चिन्तनहरू व्यक्त गरेका हुनाले उनका कविता बुझ्नका लागि दार्शनिक समलाई बुझ्नु पर्दछ । नियमित आकस्मिकता (२००५) का दार्शनिक समले व्यक्त गरेका दार्शनिक चिन्तनहरू निमित आकस्मिकाको प्रकाशनपछि उनका कवितामा व्यक्त भएको पाइन्छ । यस पूर्वका सम विशेषतः अध्यात्मवादी दर्शनबाट प्रभावित छन् र यस पछिका सममा अध्यात्मवाद र भौतिकवादको द्वन्द पाइन्छ । स्वर्ग र देवता (२००४) मा छिटफुट रूपमा देखापरेका भौतिक–आध्यात्मिक चिन्तनहरू नियमित आकस्मिकतामा आइपुग्दा प्रष्ट दर्शनका रूपमा देखापर्दछन् । नियमित आकस्मिकतामा व्यक्त दर्शनलाई कवितात्मक रूप दिएर उनले दार्शनिक ग्रन्थको कवितात्मक संस्करणका रूपमा आगो र पानी (२०११) को प्रकाशन गरेका छन् भने चिसो चूल्हो (२०१५) महाकाव्यसम्म पनि उनको यो चिन्तन व्यक्त हुँदै गएको पाइन्छ । उनी मूलतः स्वर्ग र देवता फुटकर कवितादेखि नै चिन्तनशील र बौद्धिक कविका रूपमा देखा पर्दै आएका हुन् र यो चिन्तनले उत्तरोत्तर विकसित रूप प्राप्त गर्दै अगाडि बढेको छ । भावनाको बौद्धिक कोमलता नै कविता हो भन्ने मान्यताका समको प्रमुख कवितात्मक प्रवृत्ति चिन्तनशीलता र बौद्धिकता हो ।
चिन्तनशील कविका रुपमा रहेर समले एकातिर बौद्धिकता प्रस्तुत गरेका छन् भने अर्कोतिर उनी मानवतावादी दार्शनिक कविका रूपमा पनि देखापरेका छन् । ईश्वरको मृत्यु भयो र पृथ्वीको अधिपति नै मान्छे हो भन्ने घोषणा गर्ने नित्सेको ईश्वर मृत्युको घोषणा, माक्र्सको माक्र्सवाद र डार्विनको विकासवादले स्वीकारेको मानव सत्ताको सर्वोच्चतालाई उनले पनि स्वीकारेका छन् । उनले स्वर्ग र नरक अर्को कुनै ठाउँ छैन र देवता तथा राक्षस पनि अरू केही होइन, पृथ्वी नै स्वर्ग हो र मान्छे नै ईश्वर हो भन्ने मानवतावादी चिन्तन स्वर्ग र देवता कवितामा व्यक्त गरेका छन् भने आगो र पानीमा आएर आगो र पानीको मिलनबाट नै जीवन फुल्न सक्छ भन्ने समन्वयवादी मानवतावादी चिन्तन व्यक्त गरेका छन् ।
लय विधानका कोणबाट समलाई हेर्दा उनी अनुष्टुप छन्दका कविका रूपमा देखापर्दछन् । अनुप्रासहीन अनुष्टुप छन्दको प्रयोगका दृष्टिले उनी नेपाली काव्यसाहित्यका उत्कृष्ट कवि मानिन्छन् । यस छन्दको प्रयोग उनको कविता यात्राको सुरुमै देखापरेको हो तर २००४ सालपछि उनी परिस्कृत र परिमार्जित गद्य शैलीको सफल प्रयोक्ताका रूपमा स्थापित भएका छन् । आगो र पानी, स्वर्ग र देवता एवम् चिसो चूल्हो उनका गद्य कविताका उत्कृष्ट नमुना हुन् ।
शास्त्रीय कविका रूपमा समले आफूलाई लेखनाथका समवर्ती कविका रूपमा प्रस्तुत गरेका छन् । उनी शब्दलाई पुछी–पुछी, माझी–माझी र छानी–छानी प्रयोग गर्दछन् । विभिन्न प्रकारका सुगन्धमय फुलहरूलाई छाँटले टिपेर सुन्दर बैठकको टक्टकाउँदो लुगाले छोपेको टेवलमाथिको कतात्मक फुलदानामा सजाएको दृश्य समको संरचना हो भन्ने तारानाथ शर्माको भनाइले उनी सचेत शास्त्रीयवादी कविका रूपमा प्रष्ट हुन्छन् । उनी एक सचेत बौद्धिक कवि हुन् । उनका केही कविताको शैलीलाई मात्र झिकिदिने हो भने उनका कविता कविता नभएर दर्शनका रूपमा मात्र बाँकी रहन्छन् । बौद्धिकतालाई भावनाद्वारा कोमल तुल्याउनु र शैलीद्वारा उच्चता प्रदान गर्नु समको निजी वैशिष्टम् हो । उनले कवितामा छन्दलाई अनिवार्य तत्त्वका रूपमा स्वीकारेका छैनन् । उनको कविता सृजनाको विधानलाई हेर्दा उनले कविताका लागि आवश्यक तत्त्वका रूपमा छन्दलाई भन्दा भावना, बौद्धिकता र कोमलतालाई स्वीकारेका छन् । यही अर्थमा उनी सफल कविका रूपमा प्रसिद्ध छन् ।
सात दशक लामो आफ्नो काव्य यात्रामा उनी एक सफल शास्त्रीयवादी कविका रूपमा देखापरेका छन् । कविताका फुटकरदेखि बृहद् रूपसम्मको रचना गरिसकेका समका अन्य काव्यप्रवृत्तिहरूमा अध्यात्मवाद, भोतिक–अध्यात्मवाद, आत्मपरकतामा भन्दा वस्तुपरकतामा रम्नु, हार्दिकतालाई भन्दा बौद्धिकतालाई बढी जोड दिनु, वर्णमात्रिक अनुप्रासहीन अनुष्टुप छन्दको अनुसरण गर्नु आदिलाई लिन सकिन्छ ।

If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you subscribe to my regular Email Updates.
Subscribe Now!



Hi! I am Nirazz and live in 

0 comments : Post Yours! Read Comment Policy ▼
PLEASE NOTE:
We have Zero Tolerance to Spam. Chessy Comments and Comments with Links will be deleted immediately upon our review.