पोखरा उपत्यकाको मात्रै नभई कास्की जिल्लाकै सुप्रसिद्ध देवीको नाम हो तालवाराही । तालवाराहीको इतिहासको सन्दर्भमा चर्चा गर्नु पर्दा तत्कालिन कास्कीका राजा कुलमण्डन शाहद्वारा यो मन्दिरको स्थापना गरिएको बताइन्छ ।
उत्पति तथा स्थापनाः
यस सम्बन्धमा एक बडो रोचक किंवदन्ति रहेको पाइन्छ । जस्तो वाराहीदेवी पहिले तालको सिरानको वीचमा थुम्कीमा अवस्थित भएको र पछि ताल पुरिँदै आएकोले आँफू पानीमै रहन रुचाउने भएकोले तत्कालीन कास्कीका राजा कुलमण्डन शाहलाई सपनामा आँफूलाई तालको वीचमा स्थापित गराई सेवा गुर्न भनेकाले यिनको मन्दिर तालको वीचमा बनाइएको भनिन्छ । तालवाराहीको शुरुको मन्दिर फेवातालको करिब सिरान तालको वीचमा रहेको थुम्कीमा बनाइएको तर पछि तालको पानी सुक्दै गएकोले वाराही देवीले तत्कालीन शासकलाई आफ्नो वासस्थान वरिपरि पानी सुक्दै गएकोले पानीको श्रोत अर्थात पानी भएको स्थानमा सारिदिनु भन्ने स्वप्नमा संकेत भएकोले पछि फेवातालको सिरानको थुम्कीबाट यहाँ अर्थात अहिले स्थानमा ल्याई स्थापना गरिएको बताइन्छ । वि.सं. १८६८ सालमा तालवाराहीको नित्य पूजा आजाको लागि गुठीको व्यवस्थाको एक लालमोहर जारी गरिएको थियो । तर कुलमण्डन शाहले स्थापना गरिएको हो भने वाराहीको इतिहास बुझ्न धेरै अघिको समयमा पुग्नु पर्ने हुन्छ । कुलमण्डन शाले स्थापना गरेको भन्ने मौखिक आधार वाहेक अन्य कुनै लिखित प्रमाणहरु पाउन सकिएको छैन । जेभएता पनि लामो इतिहास वारे शंका गर्ने ठाउँ भने छैन । किनकि खासगरी हिन्दू शासकहरु देवी देवता अर्थात अदृश्य शक्ति प्रति ज्यादै आस्था र विश्वास राख्ने र उनीहरुको मूर्ति बनाई श्रद्धा पूर्वक सेवा गर्ने प्रचलनको इतिहास ज्यादै पुरानो रहेको पाइन्छ । जसको निम्ति कुनै शंका उपशंका गर्ने ठाउँ छैन ।
नेपालको मुटुमा पर्ने शहर पोखराको प्रसिद्ध ताल फेवातालको पनि मुटुमा अवस्थित ताल, पोखरा उपत्यकाको मात्रै नभई कास्की जिल्लाकै सुप्रसिद्ध देवीको नाम हो तालवाराही ।
पूजा विधि तथा व्यवस्थाः
यस मन्दिरमा प्रत्येक दिन विहान वेलुका नित्य नैमित्यक पूजा गर्ने गरिन्छ । देवीका मूर्ति तथा मन्दिर सफा गरिन्छ । प्राकृतिक विशेषताले भरिपूर्ण यस मनोरम पोखरा त्यसैमा पनि फेवाताल जस्तो प्रसिद्ध तालको वीचमा अवस्थित देवीको दर्शन गर्न नेपालीको साथ साथै विभिन्न मुलुकबाट आउने पर्यटकहरु पनि दर्शन गर्न इच्छुक हुने हुँदा दिनमा समेत यो मन्दिर खुला रहन्छ । यहाँ विशेष ध्यान दिनुपर्ने कुरा के छ भने यो मन्दिर हिन्दुहरुको देवी भएकीले क्रिश्चियनहरुको लागि प्रवेश निषेध गरिएको बुझिन्छ ।
यहा बली पनि चल्दछ । एकादशी, सोह्र श्राद्ध तथा बुद्ध जयन्तीका दिन वाहेक अन्य दिनहरुमा बली चढ्ने भएकाले तालवाराहीको मन्दिरमा नित्य पूजाको साथ साथै बली पनि त्यत्तिकै चल्छ । बोका तथा हाँसको बली दिन्छ भने परेवाहरु उडाईने प्रचलन रहेको छ ।
यहाँ टाढा टाढाबाट आई विवाह तथा ब्रतवन्ध जस्ता कर्महरु पनि विधिवत रुपमा गरिने गरिन्छ । तालवाराही मन्दिरलाई यस क्षेत्रका वासिन्दाहरुले विषेश शक्तिका रुपमा मात्र नभै साक्षत्कार देवीको रुपमा पुज्ने गर्दछन् । त्यसैले नव विवाहित जोडीहरु आफ्ना अभिभावक तथा आफन्तहरुको साथ आई देवीलाई साक्षी राखेर एक आपसमा श्रीमान् तथा श्रीमतिकोरुपमा गाँठो बाँध्दछन् । देवीलाई साक्षी राखेर विवाह गरिने हुँदा यदि कथम् कदाचित विछोड भएमा वा विछोड हुने प्रयास भएमा देवीको कुदृष्टि पर्ने मनोवैज्ञानिक प्रभावले पनि ठूलो भूमिका खेलेको हुन्छ । सारांशमा भन्नु पर्दा यस तालवाराही मन्दिरमा प्रत्येक महिनाको शनिवार, मंगलवार र विवाह तथा व्रतवन्धको लगन हुने महिनाहरु जस्तो मंसिर, माघ, फाल्गुण, वैशाख, जेष्ठ, आषाढ आदि विशेष भिडभाड रहन्छ ।
जनधारणा तथा विश्वासः
नेपाली समाज युगौँ देखि नै देवी देवताहरु तथा तान्त्रिक शक्तिबाट ज्यादै प्रगाढ रुपमा प्रभावित एवं आस्थावान रहँदै आएको पाइन्छ । मुलुक भर रहेका अन्य प्रसिद्ध मन्दिरहरु जस्तै यस तालवाराही मन्दिरलाई पनि साक्षात्कार शक्तिको रुपमा पुजिने गरिन्छ । वाराही देवी वास्तवामा एक साक्षात्कार एवं अद्भूत शक्तिशाली देवी हुन् । अलिकतिपनि कुदृष्टि तथा अननास्था राख्ने व्यक्तिहरुलाई केही न केही हानी पु¥याएर छोडेकी हुन्छिन् । वाराही देवी साक्षात्कार देवी हुन् भन्ने कुरा वि.सं. २०१७ सालमा यस मन्दिरको जीर्णोद्धार गराउने क्रममा स्व. श्री ५ महेन्द्र सरकारलाई मेरो रुप यथास्थितिमै राखी जीर्णोद्धार गर्ने भन्ने सपना भएको र मन्दिरलाई नयाँ दाँचा जीर्णोद्धार गर्ने विचारलाई त्यागी मौसुफ सरकारबाट मन्दिरको जीर्णोद्धार गर्दा पूर्वावस्थालाई यथास्थितिमै राखी गर्नु भन्ने हुकुम भई सोही अनुरुप जीर्णाेद्धार भएको बताइन्छ । यसका साथ साथै देश विदेश गएर आएका तथा आँफूलाई कुनै अप्ठ्यारो पर्दा राम्रो होस भनि बोको वा परेवा, हाँस जे भए पनि लिएर तिम्रो मन्दिरमा आउने छु भन्ने प्रण गर्नु र सोही प्रण अनुरुप आउनुलाई पनि देवी साक्षात्कार छिन् भन्ने कुरा बुझिन्छ । यहाँ कास्कीबाट मात्र नभएर स्याङ्जा, तनुहँ, लमजुङ्ग, गोरखा, पर्वत, वाग्लुङ्ग तथा समग्र अधिराज्यकै विभिन्न जिल्लाका वासिन्दाहरु यहाँ दर्शन गर्न आउने गरेको पाइन्छ । यसबाट पनि के स्पष्ट हुन्छ भने तालवाराही देवी प्रति नेपालीहरुको गाढा विश्वास, आस्था र प्रभाव पर्याप्त छ । यस मन्दिर प्रति पश्चिमाञ्चल क्षेत्रको मात्र सिमित नरहेर अधिराज्यकै वासिन्दा तथा अन्य मुलुकबाट आउने पर्यटकहरुको पनि त्यत्तिकै आस्था र जिज्ञासा रहेको पाइन्छ ।
बनोट तथा शैलीः
शुरुमा निर्माण कार्य गर्दा यो मन्दिर ढुङ्गा र माटोको गारो र फुसको छानो राखी बनाइएको थियो । पछि वि.सं. २०१७ सालमा स्व. श्री ५ महेन्द्र सरकारबाट हालको विद्यमान अवस्थाको रुपमा जीर्णोद्धार गरिएको बताइन्छ । मन्दिरको मूलढोकाबाट दाँया सातौँ टुडालमा २०१७ सालमा श्री चामुण्डा लेखिएको मन्दिरकै दाँया तर्फ भएको दुई सालको खम्बामा अर्को काठ तेर्साइ झुण्डाइएको घण्टमा श्री ५ महाराजधिराज महेन्द्रबाट चढाई बक्सेको उल्लेख हुनाले उक्त मन्दिरको जीर्णोद्धार महेन्द्र सरकारबाट गराईबक्सेको देखिनआउँछ । वर्तमान मन्दिर ढुङ्गाको गारोमा सुकी चुनाले टिपकार गरिएको छ । दुईछाने उक्त मन्दिरको छाना तामाको पाताले छाइएको र पित्तलको गजुरमा सुनको जलप लगाइएको छ । मन्दिरको ढोका सालको साधारण प्वालयुक्त बुट्टेदार छ । मन्दिरका टुँडालहरु विभिन्न देव देवीहरुका नामहरु अंकित छन् जस्तै श्री साँगिनी(सिँहिनी) श्री डलमत्त भैरव, श्री तालवाराही, श्री वागिरती, श्री रुद्राषनी, श्री विलवि, श्री वाराही देवी, श्री महालछिमी, श्री कुमारी, श्री वाराहिमाई, श्री रुद्राखनी, श्री गनिस(गणेश) १०१७ सालमा श्री चामुण्डा, श्री वाराही, श्री वाल कुमारी र श्री वुमायनी आदि । उक्त मन्दिरहरु वडो मेहनतका साथ कलात्मक रुपमा कुँदिएका छन् । यसले यस मन्दिरको काष्ठकलाको वैशिष्ठतालाई स्पष्टता पार्दछ ।
मन्दिरको भित्तो टायल लगाइएको तथा भूइँमा सिगमरमर विछ्याइएको छ । मन्दिर वाहिर पेटीको चारैतिर पनि मार्वल विछ्याइएको छ । मन्दिरको भित्र र वाहिर पेटीको चौघेरामा टायल तथा मार्वल लगाइएको छ । उक्त कार्य २०५४ सालमा आफ्नो स्वर्गीय बुवा तथा मुमाको स्मृतिमा श्री महेन्द्र पालिखे तथा गणेश पालिखे ज्यूहरुले लगाइदिएको पाइन्छ । मन्दिर भित्र वीचमा वाराही देवीको शिलाको मूर्ति राखिएको छ । उक्त शिलाको मूर्तिको वाँया तर्फ शिलामा सूर्यको चित्र अंकित शिला राखिएको छ । दाँया तर्फ गणेशको मूर्ति राखिएको छ । वाराही देवीलाई तामाको छतरीले छाहारी दिलाइएको छ । मूर्तिकै दाँया तर्फ वि.सं. १८५४ मा लेखिएको एक शिलालेख पनि छ । मन्दिरको परिसर भित्र टीनको छानो भएको छहारी बनाइएको छ । त्यस्तै मन्दिरकै परिसर भित्र ढुङ्गाको छानो भएको एक यज्ञ मण्डप बनाइएको छ । उक्त मण्डप २०५५ सालमा आफ्ना स्वर्गीय बुवा मुमाको स्मृतिमा श्री नारायण पहारीले बनाइदिनु भएको कुरा मण्डपको भित्तामा अवस्थित शिलालेख ले स्पष्ट पार्दछ । मण्डपकै केही पर श्रीमति वीभा नेपालीले आफ्नो खर्चमा पानीको धारा बनाइदिएकी छिन् । उक्तकुरा पनि नजिकैको शिलालेखमा उल्लेख गरेको पाइन्छ । मन्दिर प्यागोडा शैलीको छ । तलको तालवाराही मन्दिर केही वर्ष पुरानो हो ।
स्रोत: पत्रपत्रिका एवं पुस्तकहरु
![Shrestha Nirazo post signature](http://a8.sphotos.ak.fbcdn.net/hphotos-ak-snc7/299621_10150393381475469_643210468_10503039_1245632176_n.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEilzHiXw2DI-x2o5pwBkHHBczLB_lYtHWF5KLaJlk7AgDeHXKqBT035xqnSZD-Bofm16492mRIUJerIkw8NHfQqUnog75nsYJ6f3AJAYaxxQjIP1xWPrGztIAxyuaKHVYFsXCME/s1600/printer_icon.jpg)
![](http://3.bp.blogspot.com/_7wsQzULWIwo/Smop70Xvu4I/AAAAAAAABk4/ZjMTntAENuU/s400/blog-48.png)
0 comments : Post Yours! Read Comment Policy ▼
PLEASE NOTE:
We have Zero Tolerance to Spam. Chessy Comments and Comments with Links will be deleted immediately upon our review.