ल
मजुङ्ग जिल्लाको दक्षिण पश्चिम भागमा अवस्थित जिता गा.वि.स. वडा नं. ४ जिताकोटलाई तमुहरुको निकै रमाइलो वस्तीको रुपमा लिइन्छ । जिताकोट सामुन्द्रिक सतहदेखि १३६७ मिटर उचाईमा रहेको छ । यहाँको तमूहरु आफ्नो संस्कृति, संस्कार, भेष भूषा, धर्म र भाषाको जगेर्ना सम्वद्र्धन र संरक्षण गर्न सधैँ तत्पर रहेको पाइन्छ । यहाँ ६४ घरधुरी छन् । जसमा तमूहरु ३३, खवास २७, घर्ती ३ र मगर १ घरहरु छन् । यहाँको घरहरु जस्ता, ढुङ्गा र खरहरुले छाएका छन् । जिताकोट उच्च स्थानमा रहेकोले यो गाउँ प्राकृतिक दुश्यावलोकनको निम्ति अति नै रमणीय स्थानको रुपमा रहेको छ । यस ठाउँबाट विभिन्न हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । जस्तैः माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, हिमालचुली र गणेश हिमाल यस्तै गरी यहाँबाट पोखरा उपत्यका, सराङ्गकोट, भार्लेटार, तुर्लुङकोट गाउँशहर, सुन्दर बजार, कुन्छा मौरियाकोट, मिर्लुङ्गकोट, तनहँुसुर, बन्दिपुर, छिम्केस्वरी, मानुङ र मादी नदी आदिको अवलोकन पनि गर्न सकिन्छ ।
यस गाउँको मुख्य पेशा भन्नु पर्दा खेती हो । यहाँ धान, मकै, कोदो, फापर, तोरी, घैया, पिंडालु, गहत, रहर, तिल, भटमास आदिको राम्रो उत्पादन हुन्छ । यहाँको युवाहरु प्राय लाहुरे र वैदेशिक रोजगारमा आवद्ध भएका छन् । यस ठाउँमा पुग्नको लागि सदरमुकाम वेसीशहरबाट माइक्रो सञ्चालनमा छ भने दमौलीबाट ठूलो बसको व्यवस्था गरिएको छ । गत वर्षबाट भारत सरकारमार्फत भू.पू.हरुकौ पहलबाट विद्युतीकरण गरी उक्त स्थानलाई झिलिमिली पारिएको छ । खानेपानीको लागि आर.आर.आर.एस.डि.पि. (ग्रामीण पुनरर्निर्माण तथा पुनस्र्थापना आयोजना) संस्थाबाट साढे ९ कि.मी. दुरी भाँगु गाउँबाट पाईप जडान गरी १३ वटा धाराहरु सञ्चालनमा ल्याइएको छ । प्रारम्भिक शिक्षाको लागि २०१२ सालमा यस जिताकोट निवासी स्व.सुवेदार टेकबहादुर गुरुङ्गको विशेष पहलबाट प्रारम्भिक शिक्षाको लागि श्री सर्वनन्दन प्रा.वि. को स्थापना गरिएको छ । मा.वि.को हकमा १५–२० मिनटको दुरीमा गा.वि.स. मा नै मा.वि. सञ्चालन छ । उच्च शिक्षाको लागि भने छिमेकी गा.वि.स. मा जानुपर्छ । सञ्चारको लागि एन.टि.सि. को टावर गाउँमा नै र एनसेलको टावर नजिकै गा.वि.स. मा भएकोले कुनै समस्या छैन ।
दैनिक उपयोग्य वन पैदावरको लागि वन जङ्गल प्रसस्त मात्रामा उपलब्ध छ । जडिबुटीहरु, लाली गुँरास, पखनवेद, काफल, चिल्लो बादलपाते, कम्मरे लहरा, खोले बिराले, गाईखुरे आदि प्राप्त हुन्छ साथै वन्यजन्तुहरुमा बाघ, भालु, मृग, कालिज, वनकुखुरा, बाँदर, तित्रा, र लुईंचे आदि पाइन्छ । भौगोलिक एवं एैतिहासिक दृष्टिकोणले जिताकोट अत्यन्तै रमणीय स्थान हुनुका साथै सवै स्थानहरुबाट सम्पन्न र तमूहरुको संस्कृति, संस्कार र भेषभूषाको संरक्षण र सम्वद्र्धन भएको स्थानको रुपमा लिन सहिन्छ । तर बिडम्बनाको साथ भन्नु पर्दा आज हामीहरु २१औँ शताब्दीकौ हाराहारीमा हिँडिरहँदा अहिलेको फेसन विदेश जाने भएकाले गाउँघरका युवाहरु रोजगारको लागि विदेश पलायन हुने र छोरी, बुहारीहरु गुणस्तरीय शिक्षा आर्जन गर्न, स्वास्थ्य उपचारकौ निहुँमा शहरमा बस्ने प्रवृत्ति बढेको कारण हाल गाउँमा शुन्यता छाएकौ हामी पाउँदछौँ । जसको कारण गाउँको संस्कार, संस्कृति, भेषभूषा र गाउँको अस्तित्व लुप्त हुने पो हो कि? भन्ने सन्त्रास छाएको छ ।
स्रोत्रः तमू संसार वर्ष ११, अंंक ४१
Print Page
0 comments : Post Yours! Read Comment Policy ▼
PLEASE NOTE:
We have Zero Tolerance to Spam. Chessy Comments and Comments with Links will be deleted immediately upon our review.